३६ वर्षमुनिकाले वार्षिक €२,८०० सम्म छुट पाउन सक्ने
डोनोस्तिया: स्पेन सरकारले यस वर्ष भाडामा बस्नेहरूका लागि आयकर (IRPF) मा नयाँ छुट ल्याएपछि गिपुथकोआको स्थानीय कर प्रणाली फेरि चर्चामा आएको छ। नयाँ विश्लेषणअनुसार १२ वटा परिस्थितिमध्ये १० वटामा गिपुथकोआको व्यवस्था राज्यको भन्दा बढी फाइदाजनक देखिएको छ।
राज्यले के दिएको छ?
नयाँ नियमअनुसार निश्चित आम्दानीभित्र पर्ने व्यक्तिले मुख्य बसोबासको घरभाडामा तिरेको रकमको १० प्रतिशतसम्म IRPF मा छुट पाउन सक्छन्। यसका लागि करयोग्य आम्दानी (base imponible) €३३,००७.२० भन्दा कम हुनुपर्छ। आम्दानी €२३,००७.२० सम्म भए छुटको अधिकतम आधार €११,६३० हुन्छ, अर्थात् वर्षमा बढीमा €१,१६३ सम्म छुट। आम्दानी बढ्दै जाँदा यो आधार घट्दै जान्छ।
यो भाडा तिरेपिच्छे महिनैपिच्छे फिर्ता आउने पैसा होइन। Renta (वार्षिक कर विवरण) को गणनामा लागू हुने छुट हो।
गिपुथकोआमा किन फरक?
गिपुथकोआको आफ्नै Hacienda Foral छ, त्यसैले राज्यको सामान्य IRPF नियम यहाँ सिधै लागू हुँदैन। भाडाको छुटमा पनि फरक व्यवस्था छ। विशेषगरी ३६ वर्षभन्दा कम उमेरकाले केही अवस्थामा वार्षिक €२,८०० सम्म छुट पाउन सक्ने देखिन्छ, जुन राज्यको अधिकतम €१,१६३ भन्दा निकै बढी हो।
तर €२,८०० सबैले पाउने रकम होइन। उमेर, आम्दानी, घरको भाडा र लागू हुने फोरल नियमअनुसार वास्तविक छुट फरक पर्छ। आफ्नो अवस्थामा कति मिल्छ भन्ने कुरा Gipuzkoa Hacienda को पछिल्लो Renta नियम हेरेर वा त्यहीँ सोधेर पक्का गर्नु राम्रो।
नेपाली समुदायले के ध्यान दिने?
डोनोस्तिया, इरुन, एरेन्तेरिया, लासार्ते-ओरिया लगायत गिपुथकोआका क्षेत्रमा भाडामा बस्ने नेपालीले राज्यको नयाँ आवास decreto मात्र हेरेर आफ्नो छुट अनुमान गर्नु हुँदैन। पहिले Hacienda Foral de Gipuzkoa को नियम हेर्नुपर्छ।
यसबीच, भाडा सहायता र कर छुट एउटै कुरा होइनन्। Gaztelagun जस्ता कार्यक्रमले योग्य युवालाई मासिक भाडाको केही हिस्सा सहयोग गर्न सक्छन्। २०२६ को नियममा घरको मासिक भाडाको सीमा पनि तोकिएको छ।
घरधनीका लागि पनि परिवर्तन
नयाँ decreto ले घरधनीलाई पनि छुट दिएको छ। नयाँ सम्झौता गर्दा भाडा घटाएमा भाडा आम्दानीमा ठूलो कर कटौती पाउन सकिन्छ, कतिपय विशेष अवस्थामा १०० प्रतिशतसम्म। लामो समयका लागि घर भाडामा उपलब्ध गराउन घरधनीलाई प्रोत्साहन गर्नु यसको उद्देश्य हो।
0 Comments