एम्पाड्रोनामिएन्तो (Empadronamiento) के हो?
यो स्पेनमा तपाईं साँच्चै बस्ने ठेगानाको स्थानीय नगरपालिका (Ayuntamiento) मा गरिने आधिकारिक दर्ता हो। बिल्बाओमा यो Padrón Municipal de Habitantes मा दर्ता हुन्छ।
धेरै कामका लागि यो चाहिन्छ: अध्यागमन (immigration) सम्बन्धी आवेदन, स्वास्थ्य सेवामा दर्ता, बच्चाको स्कुल भर्ना र अन्य स्थानीय सेवा। तर एउटा कुरा याद राख्नुहोस्: empadronamiento आफैँले तपाईंलाई बस्ने अनुमति (residence permit) वा कानुनी हैसियत दिँदैन।
बिल्बाओमा कसरी गर्ने?
पहिले बिल्बाओ नगरपालिकाको आधिकारिक वेबसाइटमा जानुहोस् र “Solicitar cita previa” छान्नुहोस्। त्यसपछि यो विकल्प रोज्नुहोस्:
“Alta y cambio de domicilio en el Padrón Municipal de Habitantes”
नयाँ ठेगानामा पहिलो पटक दर्ता गर्ने वा ठेगाना बदल्ने दुवैका लागि यही हो। अनि आफूलाई मिल्ने कार्यालय, मिति र समय छानेर विवरण भर्नुहोस् र अपोइन्टमेन्ट पक्का गर्नुहोस्। कन्फर्मेसन सुरक्षित राख्नुहोस्।
अपोइन्टमेन्टको दिन कागजातका सबै मूल प्रति (originals) र भरेको फारम लिएर जानुहोस्।
राम्रो कुरा के भने, बिल्बाओ नगरपालिकाले अपोइन्टमेन्ट नलिई सिधै गएर पनि दर्ता गर्न दिन्छ। तर अपोइन्टमेन्ट लिएर गयो भने लाइनमा कुर्नुपर्दैन, समय बच्छ।
कुन कागजात चाहिन्छ?
- परिचय पत्र: मान्य पासपोर्ट, र TIE (residence card) छ भने त्यो पनि।
- दर्ता फारम (Hoja padronal): भरेको र हस्ताक्षर गरेको। घरमा बस्ने सबै वयस्कले हस्ताक्षर गर्नुपर्छ।
- ठेगानाको प्रमाण: भाडा सम्झौता (rental contract), घरको कागज, वा त्यहाँ बस्ने अधिकार देखाउने अन्य स्वीकार्य कागज।
- अरूसँग बस्ने हो भने: घरधनी वा भाडामा बस्ने मुख्य व्यक्तिले अनुमति (authorisation) मा हस्ताक्षर गर्नुपर्ने हुन सक्छ, साथमा उनीहरूको परिचय पत्र र घरको कागजात पनि।
तपाईंको अवस्था अनुसार चाहिने कागज अलि फरक हुन सक्छ, त्यसैले जानुअघि आधिकारिक वेबसाइटमा एक पटक हेर्नु राम्रो हुन्छ।
प्रमाणपत्र मात्र चाहिएको हो भने?
यी तीन कुरा फरक-फरक हुन्:
- Alta: बिल्बाओमा पहिलो पटक दर्ता गर्ने।
- Cambio de domicilio: सरेपछि ठेगाना अपडेट गर्ने।
- Volante de empadronamiento: पहिल्यै दर्ता भइसकेको छ, अब प्रमाणपत्र मात्र चाहिएको।
पहिल्यै दर्ता भइसकेको छ र प्रमाण मात्र चाहिएको हो भने सायद अपोइन्टमेन्टै चाहिँदैन। बिल्बाओमा अनलाइन र फोनबाट पनि volante माग्न मिल्छ, र यो निःशुल्क छ।
सम्पर्क
- फोन: 010 (बिल्बाओभित्रबाट) वा 944 010 010
- इमेल: padron@bilbao.eus
0 Comments